काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न स्कटिस खेलाडी ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् । मक्मलेन शुक्रबार नेपाल आइपुगेका हुन् । उनले एनपीएल टिम सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्नेछन् ।
उनलाई सुदूरपश्चिम रोयल्सका विटम व्यवस्थापक रवि तिमल्सिनाले स्वागत गरेका थिए । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । जसमा उनले ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् ।
उनले २०२३ मा जमर्नीविरुद्धको खेलमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका हुन् । उनी स्कटल्यान्डको एकदिवसीय टिमको पनि हिस्सा हुन् । उनले २६ एकदिवसीय खेलमा ३ शतक र २ अर्धशतक बनाएका छन् ।
सुदूरपश्चिममा स्कटल्यान्डका ब्रान्डन मक्मलेनकासहित न्युजिल्यान्डका स्कट कुगेलेइन, इङ्ग्ल्यान्डका सेफ अलि जेब, र युएईका रोहन मुस्तफा विदेशी खेलाडीहरू टोलीमा समावेश गरेको छन् । हाल सुदूरबाट खेल्ने मुस्ताफा बाहेकका सबै खेलाडी नेपाल आइपुगिसकेका छन् ।
सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् । त्यस्तै टिममा नेपाली खेलाडीहरुमा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी,अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा रहेर एसिया कपको खेलिरहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि पुस ६ गतेसम्म एनपीएलको पहिलो संस्करण हुँदैछ । सुदूरपश्चिमले लिगको पहिलो खेल मंसिर १८ गते विराटनगर किङ्ससँग खेल्नेछ ।