आईटी क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै नवराज कुँवरलाई अन्तर्राष्ट्रिय स्तरको असोसियो अवार्ड प्रदान

आईटी क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै नवराज कुँवरलाई अन्तर्राष्ट्रिय स्तरको असोसियो अवार्ड प्रदान

काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा झन्डै तीन दशकदेखि समर्पित नवराज कुँवरले प्रतिष्ठित असोसियो अवार्ड प्राप्त गरेका छन् । एसियन-आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो) द्वारा जापानको टोकियोमा नोभेम्बर ६-८ मा आयोजना गरिएको डिजिटल समिटमा कुँवरलाई यो अवार्ड प्रदान गरिएको हो । 
असोसियोले सूचना प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्तिलाई यो सम्मान दिने गर्छ । नेपालमा डिजिटल परिवर्तनलाई ग्रामीण क्षेत्रसम्म पुर्याउन अथक प्रयास, दूरदृष्टि र नेतृत्व गरेको भन्दै कुँवरले प्रतिष्ठित अवार्ड प्राप्त गरेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
कुँवर सूचना प्रविधि क्षेत्रमा यात्रा सन् १९९५ देखि सक्रिय छन् । उनले काठमाडौंको सीमाभित्र मात्र रहेको सूचना प्रविधिको प्रभावलाई देशैभर विस्तार गर्न लक्ष्यसहित आफ्ना कामहरू सुरु गरे । यसअन्तर्गत कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) मार्फत उनले ग्रामीण क्षेत्रहरूमा सूचना प्रविधिको पहुँच पुर्याउन निरन्तर काम गरे ।
कुँवरले क्यान महासंघलाई ७७ जिल्लाका साथै सातै प्रदेशमा विस्तार गर्न उनले महत्त्वपूर्ण भूमिका खेले । यस पहलले लाखौं नेपालीलाई डिजिटल शिक्षासँग जोड्न सहयोग पुर्‍याएको छ । क्यानको नेतृत्वमा उनले विभिन्न तालिम, कार्यक्रम र कार्यशालाहरू आयोजना गर्दै ग्रामीण क्षेत्रका युवाहरूलाई डिजिटल सक्षमता प्रदान गर्ने काममा लागे ।
कुँवरले राष्ट्रिय सीमाभन्दा बाहिर पनि उल्लेखनीय योगदान दिएका छन् । असोसियोका उपाध्यक्षको हैसियतमा उनले कोभिड-१९ महामारीको समयमा भर्चुअल कार्यक्रमहरू सञ्चालन गरेर आईटी क्षेत्रलाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेले । यो पहलले महामारीको समयमा पनि आईटी क्षेत्रमा निरन्तरता कायम राख्न मद्दत पुर्‍यायो र उनका नेतृत्व क्षमतालाई उजागर गर्‍यो ।
कुँवरले नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थापित गर्न विभिन्न योजनामा काम गरिरहेका छन् । उनले नेपालमा असोसियोको पहिलो पूर्ण बैठक आयोजना गर्ने पहल गरेका छन् । निजी क्षेत्र र स्थानीय निकायहरूसँग सहकार्य गर्दै उनले ग्रामीण क्षेत्रमा विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेका छन् । यसले नेपालका ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँचलाई सहज र दिगो बनाएको छ ।
असोसियो अवार्ड प्राप्त गरेपछि कुँवरले प्रतिक्रिया दिँदै भने, “यो अवार्ड मेरो लागि मात्रै नभइ नेपालका सबै आईटी पेशेवर र समुदायका लागि एक ठूलो सम्मान हो । मैले जीवनभर सूचना प्रविधिको क्षेत्रमा काम गरेको छु । यो पुरस्कार मेरो कामको मूल्याङ्कन हो । मैले सँधै गाउँ र सहरबीचको डिजिटल खाडल घटाउन र सूचना प्रविधिको पहुँचलाई सबै नेपालीसम्म पुर्याउने काम गरेको छु । आगामी दिनमा थप योजनाबद्ध भएर काम गर्नेछु ।”

खबरपाटी
खबरपाटी