काठमाडौं : युईएफए च्याम्पियन्स लिगमा डच क्लब फेयनोर्डले म्यानचेस्टर सिटीलाई बराबरीमा रोकेको छ।
गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र फेयनोर्डले ३–३ गोलको बराबरी खेलेका हुन्मा। ३–० ले पछि परेको फेयनोर्डले खेलमा कमब्याकगर्दै सिटीलाई बराबरीमा रोकेको थियो।
म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने इके गुनडोगानले एक गोल गरेका थिए। त्यस्तै फेयनोर्डका लागि अनिस हाड मोउसा, सान्टीआगो गिमेनेज र डेभिड हानकोले एक एक गोल गरे।
यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा ८ अंक भएको छ र १५औ स्थानमा छ भने फेयनोर्डको ५ खेलमा ७ अंक रहेको छ र २०औ स्थानमा रहेको छ।
गएराति नै भएको खेलमा इन्टर रेडबुल लाइपजिगविरुद्ध १–० को कठिन जित दर्ता गर्यो। जितसँगै पाँच खेलमा १३ अंक जोडेको इन्टर शीर्षस्थानमा छ। पाँचै खेलमा पराजित लाइपजिग विना अंक ३३औं स्थानमा छ।
लिगअन्तर्गत मंगलबारै सम्पन्न अन्य खेलमा एसी मिलानले स्लोभान ब्रिटिसलभालाई ३–२ र एट्लेटिको मड्रिडले स्पार्टा प्रहलाई ६–० ले पराजित गर्यो। यस्तै रोबर्ट लेवान्डोवस्कीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा ब्रेस्टविरुद्ध ३–० को सहज जित दर्ता गरेको छ।
जितसँगै पाँच खेलमा १२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ। पहिलो पराजय ब्यहोरेको ब्रेस्ट समान खेलबाट १० अंकका साथ नवौं स्थानमा छ।
ओलम्पिक लुइस कम्पनिज रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन लेवान्डोवस्कीले दुई र ड्यानी ओल्मोले एक गोल गरे।
गएराति नै भएका अन्य खेलमा बार्यन म्युनिखसँग पीएसजी १–० ले पराजित भयो।