रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुलमा क्षति

रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुलमा क्षति

काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो ।

सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुङ्गे पुल, खैरेनीघाटको पक्की पुल, सित्खा, बेलघारी, हर्दिनिघाट, बिर्ता, पुछिघाट र मन्सुली घाटको झोलुङ्गे पुल पूर्ण रुपमा क्षति पुर्‍याएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजक राजुप्रसाद पौडेलले बताए ।

बाढीले बगाएको खुर्कोट र खैरेनी घाटको पक्की पुलमध्ये खुर्कोटमा सेनाको सक्रियतामा बेलिब्रीज निर्माण गरी सञ्चालनमा आइसकेको छ भने खैरेनीघाटको पुल भने अझै निर्माण सुरु हुन नसकेको उनको भनाइ छ ।

बाढीले विभिन्न ठाउँको झोलुङ्गे पुल बगाएपछि समस्यामा रहेका स्थानीयको सहजताका लागि खाँडादेवी गाउँपालिकाले पालिकाभित्र ‘र्‍याफ्टिङ’ व्यवस्था गरेको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित दुई वटा झोलुङ्गे पुलमा बाढीले क्षति गरेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए । पुल बाढीले बगाएपछि तत्कालका लागि र्‍याफ्टिङमार्फत कोसी वारपार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

पुल बगाएपछि शिक्षा, स्वास्थ्य उपचारलगायतमा सहज सेवा लिन स्थानीयलाई समस्या भएपछि स्थानीयको मागअनुसार अस्थायी रूपमा र्‍याफ्टिङ सञ्चालन गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । सुनकोसीमा आएको बाढीले झोलुङ्गे तथा पक्की पुलसमेत बगाएपछि गाउँपालिकाका विभिन्न स्थानका नागरिक समस्यामा परेका छन् । सोही पालिका–४ स्थित पुछिघाटको पुलमा बाढीले क्षति पुर्‍याएपछि खाल्टेमा अध्ययन गर्न जानेआउने विद्यार्थी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् । रासस

खबरपाटी
खबरपाटी