नेपाल र भारतको सीमा सुरक्षा थप प्रभावकारी बनाउने दुई देशका अधिकारीहरूबीच सहमति भएको छ। काठमाडौँमा आज सम्पन्न नेपाल-भारत सीमा सुरक्षा बैठकले उक्त निष्कर्ष निकालेको हो।
नेपालका सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा भएको संयुक्त बैठकमा दुवै देशबीच सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा मिलेर काम गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ।
एक/एक वर्षमा हुँदै आएको बैठक अब भने छ/छ महिनामा पालैपालो गर्ने सहमति पनि भएको छ।
बैठकले तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश, भन्सार छली, तस्करी, लागूऔषध ओसारपसार, सुन तस्करी, अवैध हातहतियार कारोबार, मानब बेचबिखनलगायत अपराध नियन्त्रणलाई संयुक्तरुपमा थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।
बैठकले दशगजा क्षेत्रको अतिक्रमण रोक्ने निर्णय पनि गरेको छ।