काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ । आइतबार राति दुबईमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्डले पहिलो पटक उपाधि जितेको हो ।
न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रनमा समेटियो । उसका लागि कप्तान लौरा वोल्भार्ड्सले ३३ रन बनाइन् । बलिङतर्फ न्युजिल्याण्डकी रोसमेरी मेयर र अमिला केरले समान ३–३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि अमिला केरले ४३ रन बनाइन् । बलिङतर्फ दक्षिण अफ्रिकाकी नोन्कुलुलेको म्लाबाले २ विकेट लिइन् ।
यसअघि महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले ६ पटक (सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० र २०२३ ) तथा इङल्याण्ड (सन् २००९) र वेस्ट इण्डिजले (सन् २०१६ ) समान १–१ पटक जितेका थिए । दक्षिण अफ्रिका सन् २०२३ मा पनि उपविजेता बनेको थियो । अहिले पनि उपविजेतामा सीमित भएको छ ।