बीपी राजमार्गमा राति आवागमन बन्द

बीपी राजमार्गमा राति आवागमन बन्द

काठमाडौं। बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लामा पर्ने नेपालथोक–बर्षेखोला खण्डमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।

सडक डिभिजन खाल्टे–सिन्धुलीले बुधबार सूचना जारी गरी नेपालथोकदेखि बर्षेखोला खण्ड ४ किलोमिटर सडकमा हाललाई बेलुका –६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन बन्द गरिएको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रदीप तामाङका अनुसार नेपालथोकदेखि बर्षेखोला खण्ड हालैको अविरल वर्षापछि रोसी खोलामा आएको बाढीले पूर्ण बगाएकाले सवारी आवागमनका लागि खोलिएको ट्रयाक थप मर्मत गर्नुपर्ने भएकाले रातको समयमा सवारी सञ्चालन बन्द गरिएको हो ।

उहाँले भन्नुभयो, ‘सवारी सञ्चालनका लागि खोलिएको ट्रयाक सडकमा अहिले स्तरोन्नति गर्ने र सम्भव भएको ठाउँमा चौडाइ बढाउने काम भइरहेको छ । सवारी आवागमनले काममा अवरोध पुग्ने हुनाले हाललाई रातको समयमा सवारी आवागमन रोकिएको हो ।’

उक्त खण्डमा ट्रयाकको मर्मत तथा सुधार गरी यात्रालाई थप सरल र सुरक्षित बनाउने कार्य भएकाले जुनसुकै समयमा पनि उक्त खण्डमा सुख्खा पहिरो जाने सम्भावना रहेकाले रातको समयमा सवारी सञ्चालन रोक लगाउनुपरेको उहाँले जानकारी दिनुभयो ।

कुल १६० किलोमिटर लम्बाइको बीपी राजमार्गमा रोसी खोलामा आएको बाढीले  नेपालथोकदेखि भकुण्डेबेंसी खण्डको १२ किलोमिटरभन्दा बढी सडक क्षति गरेको छ । उक्त खण्डमा दसैंअघि ट्रयाक निर्माण गरी हाल एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ । तर सडक साँघुरो भएकाले सवारी साधन धेरै समय जाममा पर्दा यात्रा कष्टकर बनेको यात्रुहरुको गुनासो छ ।

खबरपाटी
खबरपाटी