दस दिनदेखि बाढीपहिरोले ठप्प रहेको कान्तिलोकपथ मंगलबारदेखि संचालनमा

दस दिनदेखि बाढीपहिरोले ठप्प रहेको कान्तिलोकपथ मंगलबारदेखि संचालनमा

हेटौंडा । दस दिनदेखि बाढीपहिरोले ठप्प रहेको कान्तिलोकपथ मंगलबारदेखि संचालनमा आएको छ । वाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माणपश्चात् मंगलबार बिहान १ बजेदेखि सवारी साधन संचालनमा आएको हो ।

पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडकको पुनर्निर्माण कार्य बिहान १ बजे सकियो, सवारी साधन पनि आवतजावत गरे, कान्तिलोकपथ आयोजनाका एक ईन्जिनियरले भने,ुतर व्यवस्थितसँग यातायातका साधन संचालन भने मंगलबार दिउँसोदेखि मात्र हुने छ ।ु

नेपाली सेना विगत चार दिनदेखि उक्त पुलको पहुँचमार्ग र क्षतिग्रस्त पुनर्निर्माण गर्न खटिएको थियो । सडक मर्मतका लागि सेनाको जनशक्ति र उपकरण एवं आवश्यक सामग्री भौतिक मन्त्रालयले उपलब्ध गराएको थियो ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले कान्तिलोकपथ र वाग्मती पुल क्षतिग्रस्त बनाएको थियो । मकवानपुर भीमफेदी गाउँपालिका(८ महादेवटार र ललितपुरको वाग्मती गाउँपालिकाको बगुवास्थित वाग्मती खोलामा निर्माण गरिएको पक्की पुल वाग्मती खोलाले क्षतिग्रस्त बनाएको थियो । १२ वर्षअघि निर्माण गरिएको उक्त पुलको मकवानपुरकोतर्फको १५ दशमलब ७ मिटर स्ल्याब बगाएको थियो भने पुलसँगै जोडिएको करिब सय मिटर कालोपत्रे सडक वाग्मती खोलाले बगाएको थियो ।

कालोपत्र सडक भएको स्थानबाट वाग्मती खोला बगिरहेको थियो । खोलाले आफ्नो धार बदलेकाले मकवानपुतर्फ पुल र पहुँचमार्ग बगाएको थियो । वाग्मती पुल हेटौंडाबाट ५० किलोमिटरको दूरीमा छ । वाग्मती पुल २०६९ सालमा निर्माण भएपश्चात् कान्तिलोकपथ संचालन आएको थियो । पाँच मिटर चौडाई र ८७ मिटर लम्बाई भएको उक्त पुल ५ करोडमा निर्माण गरिएको थियो ।

२०१३ सालमा निर्माण सुरु गरिएको उक्त सडक वाग्मती पुलकै कारणले संचालनमा आउन सकेको थिएन । सडक निर्माण गरिएको ५६ वर्षपछि पुल निर्माण गरेर २०६९ सालदेखि संचालनमा आएको थियो । हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटा दुरीका वैकल्पिक सडकमार्ग र कान्तिलोकपथ बाढीपहिरोले क्षतविक्षत बनाएकाले पूर्वदेखि यात्रुहरु त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रवेश गरिरहेका थिए ।

बाढीले एउटा वाग्मती पुलमा बनेको स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएपछि कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध बनेको थियो । बगाएको भागमा डाइभर्सन निर्माण गरी सवारीका साधन संचालनमा आएका हुन् ।

गत १२ गते आएको भीषण बाढीले पुलको दक्षिण तर्फको एउटा स्पान र मकवानपुर तर्फको भाग बगाएको थियो । यो सडक खण्ड खुलेपछि सिस्नेरी, फाखेल भिमफेदी सडकखण्ड र त्रिभुवन राजपथमा भएको सवारी चाप कम हुनेछ । पुल र सडक बगाउँदा विगत १० दिनदेखि मकवानपुर र ललितपुरबीचको यातायात सम्पर्क टुटेको थियो ।

खबरपाटी
खबरपाटी