काठमाडौं महानगरपालिकाले अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी वस्तु विक्री नगर्न आग्रह गरेको छ।
महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी महानगरपालिका क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल ९पसल० बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाका लागि विशेष अनुरोध गरेको हो।
जसअनुसार अब पसलले मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्नेछ। उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्नुपर्नेछ भने खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्नेछ।
‘अनुगमनका क्रममा माथि उल्लिखित अवस्था विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ,’सूचनामा भनिएको छ। स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्तालाई उल्लेख गरिएको अवस्था जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गगर्न पनि महानगरले अनुरोध गरेको छ।
केही समस्या परे वा उजुरीको लागि ११८० मा सम्पर्क गर्न सकिने भएको छ।
