काठमाडौं । द्वन्द्वकालमा यातना दिने सैनिकलाई कारबाही गर्न आयोगको पत्राचारद्वन्द्वपीडित पूर्णप्रसाद पौडेल।
सशस्त्र द्वन्द्वको वेला माओवादीको आरोपमा सर्वसाधारणलाई यातना दिने, कुटपिट र लुटपाट गर्ने नेपाली सेनाका अधिकृतलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ।
सुर्खेतका पूर्णप्रसाद पौडेललाई २०५८ सालमा सेनाले नेपालगञ्जबाट पक्राउ गरेर चिसापानीस्थित ब्यारेकमा पुर्याएर यातना दिएको थियो। पौडेललाई पक्राउ गरेको केही समयपछि उनको घरमा पुगेर सेनाले परिवारका सदस्यलाई यातना दिएको, गरगहना र धनमाल लुटपाट गरेको आरोप छ।
यो घटनामा संलग्न सैनिक अधिकृत अजित थापा, रमेश स्वाँर र रामबहादुर महतलाई कारबाही गर्न आयोगले भदौ १२ गते सरकारलाई निर्देशन दिएको हो। यसका साथै पौडेललाई क्षतिपूर्ति दिन पनि सरकारलाई निर्देशन दिएको छ।
पौडेलको परिवार न्यायबाट वञ्चित भएको जनाउँदै उनी र उनकी श्रीमतीलाई जनही तीन लाख रूपैयाँ क्षतिपूर्ति दिन भनेको छ। पौडेलकी पत्नी खगिसराको हालसम्म पनि उपचार गराउनुपर्ने परिरहेको छ। उनलाई निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
सेनाको यातानकै कारण उनका दुई छोराले आत्महत्या गरेका थिए। घटनाको अनुसन्धान गर्न सर्वोच्च अदालतले पटकपटक आदेश दिए पनि प्रहरीले अनुसन्धान गरेको छैन।