काठमाडौं । नेपाली नारीको महान् पर्व हरितालिका ९तीज० का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । आज चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
पशुपतिनाथको दर्शनका लागि अझै धेरै व्रतालु लामो लाममा बसेका छन् । लाममा बसेसम्म आज दर्शन गर्न दिइने कोषले जनाएको छ । पर्वका अवसरमा आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको थियो । बिहान केहीबेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो ।
झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो । मूल मन्दिरभित्र प्रवेश गरिसकेपछि एउटा ढोकामा दुईदेखि तीन लामको व्यवस्था गरिएको उनले बताए ।