एसइई मौका परीक्षाको नतिजा असोज सुरु हप्तामै आउने

एसइई मौका परीक्षाको नतिजा असोज सुरु हप्तामै आउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको मौका परीक्षा नतिजा असोज पहिलो हप्ता प्रकाशन गर्ने तयारी गरेको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का उप(नियन्त्रक भक्त गोदारले अहिले असोज पहिलो सातासम्ममा नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको जानकारी दिए।

उनका अनुसार अहिले धमाधम इन्ट्री र उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ। ‘अहिले  भइरहेको कामअनुसार असोज पहिलो साताभित्र नतिजा प्रकाश हुने देखिन्छ,’उनले थाहाखबरसँग भने,‘केही कारण त्यो समयमा नभए जसरी भए पनि दशैँ अगाडि चाहिँ नतिजा प्रकाशन हुन्छ।’

२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको एसइई परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक ९ग्रेडवृद्धि० परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको थियो। 

राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते एसइईको नतिजा सार्वजनिक गरेको थियो। तर सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए। ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना फेल ९एनजी० भए।

बोर्डले ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने निर्णय गरेको थियो। जसअनुसार धेरै विद्यार्थीहरू फेल भएपछि सरकारको चर्को आलोचना भयो। त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा दुईभन्दा बढी विषयमा एनजी अर्थात् नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको थियो।

परीक्षा बोर्डका अनुसार उक्त मौका परीक्षामा एसइई परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार भन्दा बढी भए पनि दुई लाख १० हजार मात्रै परीक्षामा सहभागी भएका छन्। फाराम भरेका ३२ हजार विद्यार्थीहरू भने परीक्षामा सहभागी भएनन्। 

खबरपाटी
खबरपाटी