काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आगामी अक्टोबरमा काठमाडौंमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार सम्पन्न कार्यसमिति बैठकले साफ महिला च्याम्पियनसिप २०२४ काठमाडौंको दशरथ रंगशालमा आगामी अक्टोबर १७ देखि ३० (कात्तिक १ दखि १४)सम्म आयोजना गर्ने निर्णय गरेको हो ।
यसअघि गत जेठमै दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले साफ महिला च्याम्पियनसिप अक्टोबरमा नेपालमा गर्ने निर्णय गरेको थियो । एन्फाले च्याम्पियनसिपको मिति तय गरेको हो ।
नेपालमा साफ महिला च्याम्पियनसिप लगातार तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २०१९ को पाँचौ संस्करण विराटनगर र २०२२ मा छैटौं संस्करणमा काठमाडौंमा आयोजना भएको थियो ।
नेपालले यसअघि नै लगातार दुई पटक च्याम्पियनसिप आयोजना गरिसकेको छ । अब दशरथ रंगशालमा लगातार दुई पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्ने पहिलो भेन्यु बन्नेछ ।
सन् २०१० मा बंगलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिप नेपालले अहिलेसम्म जित्न सकेको छैन । नेपाल यसअघि पाँच पटक फाइनल खेल्दा सबैमा पराजित भएको थियो । सन् २०१६ मा भने नेपाल फाइनल पुग्न सकेन ।
पछिल्लो पटक घरेलु मैदानमा भएको छैटौं संस्करणमा नेपाल बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।