काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रदेशमा आफ्नै प्रहरी गठनका लागि काम अगाडि बढेको बताएका छन् । उनले गृह मन्त्रालयबाट प्रदेश प्रहरी गठनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकिएको पनि दाबी गरे ।
‘प्रहरीसम्बन्धी नयाँ कानुन बनाउन मैले मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसकेको छु,’ जनकपुर विमानस्थलमा बिहीबार बिहान सञ्चारकर्मीसित कुरा गर्दै गृहमन्त्री लेखकले भने,‘त्यो अहिले अर्थ मन्त्रालयमा रहेको छ । विभिन्न मन्त्रालयको सहमतिपछि कानुन संसदमा जान्छ र प्रहरीसम्बन्धी संघका ऐनहरूमा संशोधन, परिमार्जन गरेर प्रदेशमा पनि प्रहरी गठन हुनेछ ।’
गृहमन्त्री लेखकले प्रदेश सरकारकै मातहतमा प्रहरी दिनका लागि नेपाल प्रहरी ऐन २०१२ मा आवश्याक संशोधन र परिमार्जनका लागि गृह मन्त्रालयले निर्णय गरिसकेको बताए । ‘संघका ऐनहरू संशोधन र परिमार्जन गरेर हामी प्रहरीको समायोजन र प्रदेश प्रहरी पनि गठन हुने दिशामा अगाडि बढ्छ ।’ प्रादेशिक सरकार गठन भएको करिब ७ वर्ष हुँदा पनि संघ सरकारका अनिच्छाका कारण प्रहरी समायोजन हुन सकेको छैन । प्रदेश सरकारहरूले तारन्तार प्रदेश मातहतमा प्रहरी ल्याउन दबाब दिए पनि संघले कानुन बनाउन ढिलाइ गरेको छ ।
धनुषा र महोत्तरीको विभिन्न कार्यक्रममा सहभागी हुन आएका गृहमन्त्री लेखकले वर्तमान सरकार काम गर्न आएकाले डलेभरीमा कुनै कमी नहुने दाबी गरे । ‘यो सरकार डेलिभरी गर्नकै लागि बनेको हो,’ उनले भने, ‘मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम हुन्छ । डेलिभरी पनि हुन्छ ।’ गृहमन्त्री लेखकले सरकारको स्थिरता, राजनीति स्थिरता, अर्थतन्त्रलाई क्रियाशील तथा आर्थिक गतिविधि बढाउन नयाँ सत्ता समीकरण गरिएको पनि प्रष्ट पारे ।
‘दिगो शान्ति, विकास, सुशासन र समृद्धि हासिल गर्ने दिशामा सरकार अगाडि बढेको छ,’ गृहमन्त्री लेखकले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था, समावेशिता चरित्र भएको राज्यको व्यवस्था गरेको संविधानलाई थप सुदृढ गरिनेछ ।’