पशुपतिनाथ परिसरमा कोटिहोमको नाममा आयोजित कार्यक्रमको समापनको दिन शुक्रबार भएको घटनाको छानबिन गर्न सात सदस्यीय समिति गठन भएको छ ।सुरक्षा समितिका सदस्यहरु र आयोजकबीचको सहमतिपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन भएको हो ।समितिले १५ दिनभित्र घटनाबारे प्रतिवेदन पेश गर्नेछ । साथै, घटनाका दोषीलाई कारबाही गर्ने सहमति पनि भएको छ ।
यस्तो छ घटना
पशुपतिनाथ परिसरमा कोटिहोमको नाममा आयोजित कार्यक्रमको समापन दिन, शुक्रबार राति ११ बजे प्रहरी र आयोजक पक्षबीच झडप भएको थियो ।सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरीले कार्यक्रम आयोजक विजय भण्डारीसँग केही प्रश्नहरू राख्न खोज्दा, भीडले प्रहरीमाथि हातपात गर्यो, जसले गर्दा स्थिति अराजक बन्यो ।
झडपका क्रममा संलग्न दुई व्यक्तिलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बादमा विजय भण्डारीले आफ्ना समर्थकहरूलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्। उनले भड्काउपूर्ण अभिव्यक्ति दिँदै भने, “बङ्गलादेशभन्दा बेहाल बनाउँछौँ, मलाई छोएर त देखाउ ।”
यसपछि समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध नाराबाजी समेत गरे ।त्यसको केहीबेर भाषण चल्दै गर्दा, पछाडिबाट एक युवाले आयोजकलाई “हिसाबकिताब देऊ” भन्दै आग्रह गरे । उनले हिसाब खोजेको बहानामा आयोजक विजय भण्डारीका समूहका केटाहरूले ती युवालाई घेर्न गए । भीडले ती युवकलाई कुटपिट गरेपछि उनको टाउको र नाकबाट रगत बग्न थाल्यो । पछि उनलाई मञ्चको एक कुनामा सुरक्षित राखियो ।