हाल देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको बाह्रबिसेमा सबैभन्दा धेरै वर्षा भएको छ ।
सिन्धुपाल्चोकमा नाकोटेको मेलम्ची नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जलसतह बढ्दो क्रममा रहेकाले मेलम्ची बजारलगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हुँदा सतर्कता अपनाउन बाढी महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा अहिले पानी पर्न रोकिएको छ । तर, दिउँसो भने काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार रातिदेखि परेको वर्षाका कारण मंगलबार बिहान काठमाडौं उपत्यका जलमग्न भएको थियो ।
आज दिउँसो पनि मधेशबाहेक देशभर वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजराति पनि देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ ।