
काठमाडौँ -प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य अवस्थाले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत् उनले बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका हुन् ।
ओलीले आज सचिवालय बैठक पनि बालुवाटारमा नबस्ने जनाएका छन् । मनोहरा खोलामा आएको बाढीले च्यासलस्थित एमाले पार्टी कार्यालय डुबानमा परेकाले आजको बैठक अन्यत्र राखिएको उनले जानकारी दिएका छन् । आज बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक बसेरा बुटिक होटेलमा बस्दै छ ।
उनले लेखेका छन्, 'सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु। आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।'