काठमाडौं । बाढीबाट डुबानमा परेको च्यासलस्थित एमालेको पार्टी कार्यालय ।
देशको राजधानी काठमाडौं उपत्यकामा मंगलवार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले मानवीय क्षतिसमेत पुर्याएको छ ।
बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । बल्खु पुलमुनि एक जनाको शव भेटिएको हो ।
बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय सरुप महतोको शव बुधवार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
नदी किनारमा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो ।
महतोको बाढीले बगाएका कारण मृत्यु भएको पुष्टि भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
यस्तै बाढी, पहिरो र डुबानका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । उपत्यकाका तीन जिल्लाबाट ७१ जना मानिसको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जसमध्ये १८ जना बालबालिका छन् । काठमाडौंबाट १० पुरुष, ६ महिला र २ बालबालिकासहित १९ जनाको उद्धार गरिएको छ ।
यस्तै ललितपुरबाट १३ पुरुष, ८ महिला र ३ बालबालिकासहित २४ जनाको उद्धार गरिएको प्रवक्ता मैनालीले जानकारी दिए ।
यसैगरी भक्तपुरबाट १३ पुरुष, ११ महिला र ४ बालबालिकासहित २८ जनाको उद्धार गरिएको छ ।
यस्तै ७०० कुखुराको उद्धार गरिएको प्रहरीले जनाएको छ । जसमा ललितपुरका ४०० र भक्तपुरका ३०० कुखुरा छन् ।
बाढीबाट च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयसमेत डुबानमा परेको थियो ।