काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधवार दुर्घटनामा परेको सौर्य एयरलाइन्सका क्याप्टेन मनिष शाक्यले अस्पतालको शैयाबाट दुर्घटनाका बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् ।
सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत क्याप्टेन शाक्यले उपचारमा खटिएका डाक्टरसँग आफूले जहाजलाई एक सय फीटमाथि पुगेपछि कन्ट्रोल नभएको बताएका हुन् ।
क्याप्टेन शाक्यले जहाज एक सय फिटमा पुगेपछि जहाज कन्ट्रोल नभएको र तल खसेको बताएको उनको उपचारमा खटिएका चिकित्सकको भनाइ छ । ‘करिब एक सय फिटमाथि पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उददृत गर्दै चिकित्सकले भनेका छन् – ‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैँ बाहिर निस्किएँ । त्यहाँबाट निस्कन लाग्दा कसैले मलाई तानेको याद छ ।’
अस्पतालले अहिले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको स्पष्ट पारेको छ । क्याप्टेन शाक्यको टाउको, खुट्टा तथा मेरूदण्डको हड्डीमा चोट लागेको छ । उनले अहिले आफन्त लगायत भेटघाटका लागि जानेहरूसँग सामान्य रूपमा कुरा गरिरहेका छन् । हिजो भएको उक्त विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो, जसमा पाइलट शाक्य मात्रै बाँच्न सफल भएका छन् ।