काठमाण्डौ – गएको आर्थिक वर्षमा सरकारले अनुगमन गरेकामध्ये ९८ दशमलव ५३ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै कैफियत भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८० सालको साउनदेखि २०८१ सालको असार मसान्तसम्म काठमाण्डौ उपत्यकाका चार हजार दुई सय ६९ वटा व्यावसायिक फार्ममा अनुगमन गरेको थियो ।
तीमध्ये चार हजार दुई सय छ वटा व्यावसायिक फार्ममा केही न केही कैफियत भेटिएको विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ । ६३ वटा फार्म मात्रै सामान्य अवस्थामा रहेका पाइएको छ । विभागले अनुगमन गरेकामध्ये नाै सय ३५ वटा व्यावसायिक फार्मलाई पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिबाना गरेको छ ।
विभागले ८६ वटा व्यावसायिक फार्ममा रहेका म्याद नाघेका सामान नष्ट गरेको छ । विभागले एक हजार एक सय दुई वटा व्यावसायिक फार्मलाई स्पष्टीकरण तथा बयानका लागि आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । विभागले अनुगमन गरेकोमा सबैभन्दा धेरै खाद्य, किराना पसललाई जरिबाना गरेको छ ।