रौतहटको मोहर्रम पर्वमा झडपको कारण उच्छृङ्खल गतिविधि, १९ सुरक्षाकर्मी घाइते

रौतहटको मोहर्रम पर्वमा झडपको कारण उच्छृङ्खल गतिविधि, १९ सुरक्षाकर्मी घाइते

काठमाडौं । रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ सुरक्षाकर्मी घाइते भएका छन् ।

राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृङ्खल गतिविधि भएपछि धकेलाधकेलको स्थिति सिर्जना भएको थियो । केही युवाहरू उच्छृङ्खल भइरहँदा प्रहरीले माइकिङ गरेर शान्त रहन आग्रह गरेको थियो ।

तर, सोही क्रममा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो । जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन् । 

स्थिति नियन्त्रणमा लिन १२० प्रहरी खटिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए । त्यसपछि स्थिति नियन्त्रण आएको प्रहरीले जनाएको छ । 

बिहीबार साँझ साढे ६ बजेदेखि करिब ८ बजेसम्म कुडियाको स्थिति तनावग्रस्त रह्यो ।नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

ढुंगा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका दुई गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबरपाटी
खबरपाटी