आज साउनको पहिलो दिन, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

आज साउनको पहिलो दिन, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् ।

साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको बताए ।

'साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ,' अधिकारीले भने ।

आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।

कोषले गत असार १ देखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बताए ।

खबरपाटी
खबरपाटी