सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पठाउने मन्त्रीहरूका विषयमा छलफल हुनेछ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल तथा समीक्षा पनि हुनेछ । यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए । 

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय दिएर संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री दाबी पेस गर्न आह्वान गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले शुक्रबार राति नै कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमै लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

कांग्रेस-एमालेबीच १७ असारमा नयाँ सत्ता समीकरणका लागि सहमति भएको थियो । सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्न लागेका हुन् । २ वर्षपछि सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले लिनेछन् । 

खबरपाटी
खबरपाटी