काठमाण्डौ – मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा हिजो बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बस र ती बसमा रहेका यात्रुको खोजी आज पनि भइरहेको छ । हिजो दिनभर खोजे पनि नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको र आज बिहानैदेखि फेरि खोजी शुरु भएको चितवन प्रहरीले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज सम्भावित सबै ठाउँमा खोजी हुने बताउनुभयो । प्रशासन र प्रहरीले खोजीको लागि सबै सामथ्र्य लगाएको उहाँको भनाइ छ । हिजो घटनास्थलबाट तीन, चार किलोमिटर तलसम्म खोज्दा पनि नभेटिएको उहाँले जानकारी दिनुभयो ।
बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
सिमलतालमा हिजो बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल डिलक्स बस र काठमाण्डौबाट गौरको लागि छुटेको गणपति डिलक्स बस पहिरोमा परेका हुन् । दुवै बसमा गरेर कम्तिमा ५० जना यात्रु रहेको अनुमान गरिए पनि यकिन विवरण प्राप्त भैनसकेको प्रहरीले जनाएको छ ।