काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।
५औं पटक प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदा दुई तिहाइ सांसदले उनको विपक्षमा मतदान गरे । असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् । पाँचौँ पटक विश्वासको मत पाउन असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रचण्ड प्रतिपक्षमा पुगेका छन् ।
आज विश्वासको मतको मत विभाजनको बैठकमा २५८ सासंद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मतदान गरे । विपक्षमा १९४ मत प्राप्त भयो । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । दिन्न भन्नेमा एक मत पर्यो ।
कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि सरकार ढल्ने निश्चित हुँदा पनि प्रचण्डले विश्वासको मत लिएका हुन् । प्रचण्ड सरकार ढलेसँगै ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सहमतिअनुसार कांग्रेस एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेछन् ।
२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए ।
दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।
तर यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परे । साना दलहरूले समेत साथ दिएनन् । उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।