मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्मै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ।
महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साथै कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राति देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।