काठमाडौँ - शुक्रबार रातिदेखि नियमित परिरहेको वर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते लगायतका सहायक नदीहरूमा पानीको बहाव उच्च भएको छ। सडकमा पानी जम्मा भएको छ। कति ठाउँका नदी किनारमा पानी प्रवेश भएको छ। केही ठाउँमा डुबानमा परेका छन्।
पानी नियमित परिरहेकाले नदीहरूमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नदी किनारामा रहेका व्यक्तिहरूलाई उच्च सतर्क रहन आग्रह गर्दै बाढीजन्य विपद् परेमा बाढीजन्य विपद् परेमा महानगरपालिकाका हटलाइन १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।
यसैगरि बारा, सिन्धुली, काभ्रे, काठमाण्डौ उपत्यका, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, कास्की, गोरखा, प्युठान, गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पर्वत, म्याग्दी, दाङ, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ ।
वर्षासँगै ठाउँ ठाउँमा बाढीले सतर्कता तह पार गरेको छ । पश्चिम राप्ती, बबई, नारायणी, कालीगण्डकी र कोशी नदीमा बाढी कतै सतर्कता तह र कतै खतराकै तहमा पुगेको छ । ललितपुरको खोकनामा बाग्मती नदी, सिन्धुपाल्चोकको नाकोटे र कपिलवस्तुको बनगाईमा कोइली नदी अहिले खतराको तहभन्दा माथि पुगेका छन् । विमलनगरमा मर्स्याङ्दी नदी, चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदी, भक्तपुरको जगातेमा हनुमन्ते खोला, पर्वतको नयाँ पुलमा मोदी खोला र झापाको निन्दा खोला सतर्कता तहमा पुगेका छन् ।
अविरण वर्षाका कारण पर्साको वीरगञ्ज, दाङको देउखुरीसहित विभिन्न क्षेत्र डुबानमा परेका छन् । वीरगञ्ज महानगरपालिकाका छपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायतका ठाउँ डुबानमा परेका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै देशभर साधारणतया र पूर्णतया बदली रहने जनाएको छ। सबै प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएको छ।