काठमाडौं । ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत वरिष्ठ अधिकारीलाई छलफलका लागि बोलाएको छ ।
शुक्रवार हुने छलफलमा सहकारी संस्थामा भएको रकम दुरुपयोगबारे सूचना लिने तयारी गरिएको विशेष समितिका सभापति सूर्य थापाले जानकारी दिए । छलफलमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध अनुसन्धान विभागका प्रमुखलाई समेत डाकिएको छ ।
समितिको बिहीवार बसेको नवौं बैठकमा महालेखापरीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरे लगायतलाई डाकिएको थियो ।
सभापति थापाका अनुसार बैठकमा सहकारी नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकता लगायतका विषयमा ुगम्भीर छलफलु भएको छ । बैठकमा सहभागीलाई समितिले माग गरेका कागजातहरू छिटो उपलब्ध हुनेगरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण गराएको छ ।