३२ सिटको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० पुस २०७९ प्रधानमन्त्री बन्दा कांग्रेसलाई धोका दिएका थिए । दोस्रो बनेको दल एमालेले प्रतिपक्षमा बस्नुभन्दा प्रधानमन्त्री प्रचण्डलाई मानेर सत्तामा बस्न सक्ने भन्दै दोस्रो तहका नेताबाट माओवादीसँग सत्ता सहकार्यको माहौल बनाएको थियो ।
राष्ट्रपति चुनावमा प्रचण्डले एमालेलाई धोका दिएर कांग्रेसका नेता रामचन्द्र पौडेललाई समाएपछि फागुन २०७९ मै एमाले प्रतिपक्षमा पुगेको थियो । पेलानमा परे भनेर कांग्रेससँग हात मिलाउन फर्किएका प्रचण्डले २१ फागनु २०८० मा कांग्रेसलाई पत्तै नदिई सत्ताबाट चिप्ल्याइदिए । ३३ दिनमा एमालेसँग काम गर्न सकिन्न भनेर कांग्रेससँग मिल्न आएकाले तत्काल धार फेर्न नसक्ने भन्नेमा कांग्रेस ढुक्क थियो । तर, कांग्रेसको ढुक्कलाई प्रचण्डले सरकारबाट बाहिर निकालिदिएर अर्को योजना पनि बनाउनुपर्छ भनेर पाठ सिकाएका थिए ।
२९ फागुन २०८० मा पार्टी पदाधिकारी बैठकमा देउवाले आफूले निरन्तर प्रधानमन्त्री दाहालसँग कुराकानी गरिरहे पनि गठबन्धन नै टुटाउने खालका कुरा यसअघि नगरेको बताएका थिए ।
‘मलाई दिनमा दुईपटक केपी ओलीले फोन गर्ने गरेका थिए । भेट्न आउँछु भन्थे । मैले गठबन्धनमा आशंका हुन्छ भनेर ओलीलाई भेट्दा पनि भेटिनँ । सबै कुरा दिँदा पनि प्रचण्डले गठबन्धनलाई अगाडि बढाउन मानेनन् । उनको नियत नै धोका दिने रहेछ,’ देउवाले भनेका थिए ।
प्रधानमन्त्री आलोपालो हुने समझदारीमा प्रधानमन्त्री दाहाल इमानदार नदेखिँदा गठबन्धन टुटेको निष्कर्ष देउवाले त्यो बेलामा निकालेका थिए ।
१८ असार २०८१ मा आइपुग्दा देउवाले २१ फागुन २०८० मा भनेको जस्तै हालतमा प्रचण्ड पुगेका थिए । कांग्रेसका सभापति देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्डले दुवै नेताहरूसँग यसबारे चासो राखे । तर, फरकफरक जवाफ पाए ।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको भेटमा देउवासँग भएको सहमति के हो ? भनेर जिज्ञासा राखेका थिए । जवाफमा ओलीले देउवासँग ठ्याक्कै सहमति नै चाहिँ भइनसकेको बताएका थिए । ओलीसँग भेटेपछि बसेको पार्टीको पदाधिकारी बैठकमा प्रचण्डले यसबारेमा ब्रिफिङ गरेका थिए । उनले मन्त्रिपरिषद्को बैठकमा समेत गठबन्धन लामो समय जान्छ भनेर ब्रिफिङ गरेका थिए ।
‘केपीजीले शेरबहादुरजी, तपाईं र मबीचमा राष्ट्रिय सहमति गर्ने कुरा भएको छ भन्नुभयो । हामी तीन जनाको बैठक बस्ने कुरा भएको छ,’ ओलीसँगको भेटबारे प्रचण्डले पार्टी बैठकमा भनेका थिए ।
प्रधानमन्त्री प्रचण्डले १८ असारको बिहानै कांग्रेस सभापति देउवालाई फोन गरेर पछिल्लो घटनाक्रमका बारे जिज्ञासा राखेका थिए । देउवाले पनि सिधा जवाफ दिए, ‘म ढाँट्न जान्दिनँ । एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरा भएको छ । अब तपाईंसँग छलफल गर्ने विषय छैन,’ देउवाको जवाफ उद्धृत गर्दै प्रचण्डले पदाधिकारी बैठकमा भने ।
२१ फागुनमा एमालेको साथ पाएपछि कांग्रेसलाई जसरी धोका दिएका थिए, एमाले अध्यक्ष ओलीले कांग्रेसको साथ पाएपछि प्रचण्डलाई त्यही शैलीमा धोका दिए । कांग्रेस–एमालेले प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गरिदिऊन् भन्ने चाहे पनि संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारीमा छन् ।