प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक, एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक, एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौं । सत्ता गुम्ने निश्चित भएपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्। उनले आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बोलाएका हुन्।

पदाधिकारी बैठकमा राय आएपछि प्रचण्डले आजै राजीनामा दिने सम्भावना रहेको एक पदाधिकारीले बताए ।

ती पदाधिकारीले भने, ‘सम्भवतः हामीसँग प्रधानमन्त्रीज्यूले राजीनामा दिने या नदिने भन्ने विषयमा कुरा गर्न लाग्नुभएको होला हामी उहाँलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिन्छौँ ।’

संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले आज (मंगलबार) राजीनामा दिने भएका छन्। 

मंगलबार मध्यराति वर्तमान गठबन्धन तोडेर एमालेले नेपाली कांग्रेससँग सत्ता समीकरण बनाउने  सहमति गरेको हो। योसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न लागिएको हो। 

यसका लागि आजै आफ्ना पार्टीका मन्त्रीहरूले राजीनामा दिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन्।साथै उनले परिवर्तित अवस्था बुझेर प्रधानमन्त्री प्रचण्डले पनि आजै राजीनामा दिने विश्वास गरिएको बताए। 

‘आज हाम्रा मन्त्रीहरूले राजीनामा दिनुहुन्छ। लगत्तै नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन्छ’, बर्तौलाले खबरपाटिसँग भने, ‘यो अवस्था सबै बुझेर सायद प्रधानमन्त्रीज्यूले बेलुकीसम्म राजीनामा दिनुहुन्छ भन्ने विश्वास हामीले लिएका छौँ।’ 

उनले थपे, ‘सम्भवतः आजै बेलुकीसम्म नयाँ सरकार बन्ने सम्भावना छ।’ 

खबरपाटी
खबरपाटी