काठमाण्डौ। बागमती प्रदेशकी युवा तथा खेलकुद विकास मन्त्री रमा आलेले खेलकुद विकास परिषद बागमती प्रदेशद्वारा आयोजित दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१को उदघाटन सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मन्त्री आलेले खेलाडीलाई सफलताको शुभकामना व्यक्त गर्दै आफनो कार्यकाल अवधिमा पारा खेलकुदलाई अझ प्रोत्साहन मिल्ने गरि रणनीति तयार गर्दै आफू अघि बढिरहेको उल्लेख गर्दै यसरी खेलाडी र खेलको महत्त्व बुझी सधैं अग्रपंक्तिमा उभिनु हुने प्रतियोगिताका संयोजक एवं पारा एथलेटिक्स एसोसिएसनका अध्यक्ष ओमनाथ शिवाकोटीको खुलेर प्रशंसा गर्नु भयो ।
त्यसैगरि, राष्ट्रिय पारालिम्पिककी अध्यक्ष राधा घलेले नेपालले इतिहासमै पहिलो पटक पारालिम्पिक खेलमा स्वर्ण पदक जितेको स्मरण गराउनु हुँदै हालै चीनमा सम्पन्न एशियाड खेलकुदमा पारालिम्पियन पलेशा गोबर्धनले अहिलेसम्मकै इतिहासमा कास्य पदक सहित उच्च पदक जित्दै देशलाई ठूलो सफलता दिलाएको उल्लेख गर्दै सधैं पारा खेलकुद र खेलाडीको हितमा लागि पर्ने ओमनाथ शिवाकोटीलाई अन्तर मनबाटै धन्यवाद ब्यक्त गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय पारालिम्पिकका महासचिव पशुपति पराजुलीले प्रदेश स्तरमा पारा खेल कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु सुखद पक्ष रहेको बताउनुभयो ।
त्यसै गरि काठमाण्डौ जिल्ला युवा समिति अध्यक्ष रुपा थापा मगरले फरक क्षमता भएका व्यक्तीहरुलाई घरबाट नै बहिष्कार शुरु हुने गरेको उल्लेख गर्नु हुँदै राष्ट्रले पनि विगतमा पारा खेलकुदलाई बजेट नछुटयाउने गरेको गुनासो गर्नु भयो ।
सो अवसरमा काठमाण्डौ जिल्ला युवा समिति अध्यक्ष रुपा थापा मगर र पारालोम्पियन बिक्रम बहादुर रानालाई सम्मान गरिएको थियो । रानालाई १६ हजार नगद राशी सहित सम्मान गरिएको हो । उहाँहरुलाई सम्मान पत्र प्रदान गर्नु पूर्व खेलकुद विकास परिषद बागमती प्रदेशका बोर्ड सदस्य प्रल्हाद दाहालले त्यहाँ उल्लेख भएको व्यहोरा वाचन गर्नु भएको थियो।
दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१ असार १८ र १९ गरि दुई दिनसम्म चल्ने र ओमनाथ शिवाकोटीको संयोजकत्वमा कार्यक्रम भएको पनि दाहालले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरे लगायतको सहभागीता रहेको थियो ।
उदघाटन सत्र लगत्तै आयोजित प्रतियोगिता अन्तर्गत पहिलो
चरणमा सम्पन्न भएका केहि खेलका विजेता खेलाडीहरुलाई
पदक समेत वितरण गरिएको थियो । लगनखेलमा जारी उक्त
प्रतियोगिता अन्तर्गतका अन्य खेलहरु जारी रहेका छन् । प्रतियोगितामा १४ विधाका विभिन्न खेलका खेलाडीहरु सहभागी भएको थिए । कार्यक्रमको अन्त्यमा संयोजक ओमनाथ शिवाकोटीले यसरी पारा खेललाई महत्व दिई कार्यक्रम आयोजना गरेकोमा बागमती प्रदेश खेलकुद विकास परिषदलाई विशेष धन्यवाद दिनु भयो भने आफू सदा पारा खेल र पाराका खेलाडीको हितमा लागिपर्ने कुरा बताए ।