काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् राष्ट्र निर्माण गर्ने एउटा महत्त्वपूर्ण केन्द्र भएकाले कानुन निर्माण गर्ने थलोको रूपमा मात्र बुझ्न नहुने बताएका छन् ।
आइतबार काठमाडौंमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्माण भएका कानुनहरू किन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भन्ने कुरामा गम्भीर छलफल आवश्यक रहेको बताए । उनले संसदबाट नै सरकारलाई निर्देशित हुने भएकाले राष्ट्र निर्माण गर्ने एउटा महत्त्वपूर्ण केन्द्र रूपमा रहेको बताए ।
उनले भने, ‘छलफल गर्न धेरै उत्सुक छौँ, चिन्तित छौँ । तर हामीले गरेका निर्णयहरू कार्यान्वयन गर्न ध्यान दिइएको छैन । ७२ सालको संविधानपछि बनेका कानुनहरू र कानुनको कार्यान्वयन कसरी भइरहेको छ । कानुन कार्यान्वयन गर्ने सन्दर्भमा के समस्याहरू छन् । प्रभावकारी रूपमा कार्यान्वयन गर्न कसको भूमिका हुन्छ, के कुराको अभावमा हुन सकेन यस्तो कुरा पत्ता लगाउनमा हाम्रो कमजोरी छ । त्यसैले संसद् एउटा कानुन निर्माण गर्ने थलो मात्र होइन, राष्ट्र निर्माण गर्ने एउटा महत्त्वपूर्ण केन्द्र हो । यसैबाट सरकार पनि निर्देशित हुन्छ । ’
उनले जनताको जीवनमा परिवर्तन ल्याउने जस्ता तमाम कामहरू गर्ने जिम्मा इतिहासले आफूहरूलाई दिएको बताए । संसद्को गरिमा र इतिहासलाई कायम गर्न सकेमा संसद्का प्रयत्नलाई बिथोल्नका लागि आउने शक्तिहरू पराजित हुने उनको भनाई छ ।
सभामुख घिमिरेले ३५–३६ वर्षको संसदीय अभ्यासमा संसद्लाई प्रभावकारी बनाउने र विश्वव्यापी रूपबाट कूटनीतिक व्यवहार प्रयोग गरेर नेपाललाई अगाडि बढाउने जस्ता धेरै कुराहरू सिक्ने मौका पाएको बताए ।