कोपा अमेरिकामा ब्राजिलको पहिलो जित

कोपा अमेरिकामा ब्राजिलको पहिलो जित

काठमाडौं । कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार ब्राजिलले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेविरुद्ध ४–१ गोलको सानदार जित दर्ता गरेको हो । 

पहिलो खेलमा कोस्टारिकासँग अंक बाँडेको ब्राजिलले शनिबारको जितसँगै तालिकामा ४ अंक बनाएको छ । यो समूहबाट कोलोम्बियाले अन्तिम ८ मा स्थान पक्का गर्दा ब्राजिल पनि नकआउट चरणको प्रवेश नजिक छ । 


ब्राजिलले पाराग्वेविरुद्ध पहिलो हाफमै ३ गोल गरेको थियो । ३५ औं मिनेटमा लुकास पुएटाको पासमा गोल गर्दै अग्रता दिलाए । ४३ औं मिनेटमा साभियो मोरेराले गोल गरेपछि ब्राजिलको अग्रता दोब्बर भएको थियो । 

पहिलो हाफको अतिरिक्त पाँचौं मिनेटमा भिनिसियस जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दा ब्राजिलले पहिला हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । ४८ औं मिनेटमा पाराग्वेका लागि ओमार एल्डरेटले गोल फर्काउँदै अन्तर ३–१ मा झारेका थिए । तर, ६५ औं मिनेटमा लुकास पुएटाले पेनाल्टीमार्फत गोल गरेपछि ब्राजिल ४–१ ले अघि बढ्यो । 

८१ औं मिनेटमा एड्रियन एन्ड्रेस क्युवाले रातो कार्ड पाउँदै मैदान छाडेपछि पाराग्वे १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा भने ब्राजिलले उठाउन नसक्दा अन्ततः ४–१ को नतिजाका साथ तालिकामा ३ अंक थप्न सफल भयो ।


ब्राजिल ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब समूह चरणको अन्तिम खेलमा ब्राजिलले कोलोम्बियासँग बराबरी खेल्दा पनि अन्तिम ८ मा प्रवेश गर्ने छ । 


पराजित हुँदा उसले कोस्टारिका र पराग्वेको नतिजामा भर पर्नुपर्नेछ । कोस्टारिका एक अंकका साथ अहिले तालिकाको तेस्रो स्थानमा छ । 

पाराग्वेले अहिलेसम्म जितको खाता खोलेको छैन । समूह चरणको अन्तिम खेलमा कोस्टारिका र पाराग्वे भिड्ने छन् । अन्तिम खेल ३ जुलाईमा हुनेछ । 

खबरपाटी
खबरपाटी