भरतपुर महानगर : एक घर दुई रुख अनिवार्य

भरतपुर महानगर : एक घर दुई रुख अनिवार्य

काठमाडौं । भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ । पन्ध्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले एक घर दुई रुखको नीति कडाइका साथ कार्यान्वयन गर्ने नीति महानगरले लिएको हो ।

महानगर प्रमुख रेनु दाहालले सामबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्य रुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने जनाईएको छ । यस्तै एक वडा एक पार्क निर्माणको नीतिलाई निरन्तरता दिइने छ ।

“हाम्रो सहर, हरियाली तथा स्वच्छ शहर”अवधारणालाई अगाडि बढाई सडक, मिडियन गार्डेन, सडक आइल्याण्ड, पार्क, मनोरञ्जन स्थल र खाली स्थान एवम् चोकहरूमा हरियाली वातावरण सृजना गरी मनमोहक र वातावरण मैत्री महानगर बनाउन एक परियोजनाको रुपमा हरियाली प्रवर्द्धन कार्यक्रमको थालनी गरिनेछ । गोन्द्राङ–पुल्चोक सडकको दायाँबायाँ किनारमा हरियाली प्रवर्द्धन गर्न ठुला हुर्किएका रुख रोपण र संरक्षण गरिनेछ ।

“वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि सबै सँगसँगै” को सामूहिक भावनाका साथ व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ वातावरण र हरियाली प्रवर्द्धन गर्न निजी क्षेत्र तथा व्यावसायिक संघसंस्थासँग समन्वय र सहकार्य गरिनेछ ।

वातावरणीय सन्तुलन कायम गर्न टेवा पुर्‍याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्क रूपमा बिरुवा वितरण गरी वृक्षारोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
 

खबरपाटी
खबरपाटी