कर्णालीमा मान्छेले गाडी बोक्नुपर्ने अवस्था छ : नेपाली कांग्रेस सांसद हृदयराम थानी

कर्णालीमा मान्छेले गाडी बोक्नुपर्ने अवस्था छ :  नेपाली कांग्रेस सांसद हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समय लिएर सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडक स्तरोन्नतिका लागि पर्याप्त बजेट नछुट्याएको भन्दै आपत्ति जनाए ।


कर्णाली प्रदेशका राजमार्ग मृत्यु राजमार्गु बनेको सांसद थानीको भनाइ थियो । सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदले संसद् भवन घेराउ गर्ने चेतावनी दिए ।

‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ?अहिलेको सरकारले समानुपातिक दिन्छु भनेको कुरा यही कर्णालीलाई मृत्युराजमार्ग वहन गर्न दिएको हो? त्यसैले म भन्न चाहन्छु, यदि यहीँ तरिकाले सरकारले गर्‍यो भने कर्णालीका प्रदेशका सांसदहरूले संसद् घेराउ गर्नुपर्ने छ, सांसद थानीले भने, मन्त्रालय घेराउ गर्नुपर्ने छ । यदि सचेत भएर यी बाटाहरूमा बजेट छुट्याइएन भने हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भन्ने कुरा म सरकारलाई भन्न चाहन्छु ।’

सांसद थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताए । हाम्रो प्रदेशमा गाडीले मानिसलाई होइन, बिग्रियो भने मान्छेले गाडी बोक्नुपर्ने अवस्था छ, उनले भने ।


सडक साँघुरो भएकाले अर्को गाडीलाई बाटो छोड्दासमेत दुर्घटना हुने अवस्था रहेको सांसद थानीले बताए ।
 

खबरपाटी
खबरपाटी