टी–२० विश्वकप २०२४ : अफगानिस्तान ‘सुपर ८’ मा प्रवेश, पपुवा न्यु गिनी ७ विकेटले पराजित

टी–२० विश्वकप २०२४ : अफगानिस्तान ‘सुपर ८’ मा प्रवेश, पपुवा न्यु गिनी ७ विकेटले पराजित

काठमाडौं । अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर–८ मा प्रवेश गरेको छ । बिहान भएको खेलमा पपुवा न्यु गिनीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर–८ मा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले १९ दशमलव ५ ओभरमा ९५ रन बनाउन सक्यो ।


जवाफी ब्याटिङ गरेको अफगानिस्तानले भने १५ दशमलव १ ओभरमा तीन विकेट मात्रै गुमाएर एक सय एक रन बनाउँदै जित हासिल गरेको हो । समूह ‘सी’ बाट सुपर–८ मा अफगानिस्तानसँगै वेस्ट इन्डिजले स्थान सुरक्षित गरेको हो ।


समूह ‘सी’ तालिकामा तीन खेल खेलेको अफगानिस्तान ६ अंकसहित पहिलो र समान खेलबाट समान अंक बटुलेको वेस्ट इन्डिज दोस्रो स्थानमा छ ।

आयोजक वेस्ट इन्डिजभन्दा अफगानिस्तान नेट रन रेटमा अगाडि छ । वेस्ट इन्डिज दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र हो ।

तीन खेलबाट दुई अंक जोडेको युगान्डा तालिकाको तेस्रो स्थानमा छ ।

दुई खेल खेलेको न्युजिल्यान्ड चौथो स्थानमा छ । न्युजिल्यान्डले हालसम्म अंक जोड्न सकेको छैन ।

तीन खेल खेलेको पपुवा न्यु गिनी भने पाँचौँ स्थानमा छ ।

खबरपाटी
खबरपाटी