काठमाडौं । पाल्पामा कार दुर्घटना हुँदा तीन जनाको दुखद निधन भएको छ । पाल्पाको नुवाकोट गढीबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको कार गए राति बुटबल–बेलवासस्थित भ्यू प्वाइन्टनजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेहरूमा बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा छविलाल, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनै जनालाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन् ।
कारमा सवार अन्य २ जना भने घाइते भएका छन् । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका हुन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु गर्मी छल्न बुटवलबाट पहाड घुम्न नुवाकोट पुगेका थिए ।
पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोट पुगेर बुटबल बेलवास झर्ने क्रममा भ्यू प्वाइन्टनजिकै दुर्घटनामा परेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । गाडी सडकबाट करिब सय मिटर तल खसेको थियो ।