काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले यसपटक बाढीपहिरोको सम्भावित क्षति कम गर्न फरक शैली अपनाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बिहीबार बोल्दै सांसद शर्माले बाढीपहिरोपछि आपतकालीन बैठक बस्ने दृश्य बदल्नुपर्ने बताएका हुन् ।
‘बर्खाको समयमा हाम्रो देशमा ३ वटा दृश्य देखिने गरेको छ । पहिलो– बाढीपहिरो, दोस्रो आपतकालीन बैठकहरू र तेस्रो दलहरूको वक्तव्य अनि संसद्मा सांसदहरूको ध्यानाकर्षण,’ शर्माले बैठकमा भने, ‘यसपालि दृश्य बदलौं । ध्यानाकर्षणका लागि बाढी नकुरौं । बाढीपछि बैठक होइन, उद्धारमा जुटौं । जस्तो कि हामी जान्दछौं– गाउँमा कसैको घरमा आगो लाग्दा मान्छेले बैठक गर्दैनन्, पानी खोज्छन् ।’
उनले जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपबाट ग्रसित बनेको बताए ।
भूगर्भविदहरूले औंल्याएअनुसार पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने माग उनको छ ।