काठमाडौँ । नेकपा एमालेका सांसद एवं सचिव योगेश भट्टराईले सरकारको विपद्पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भट्टराईले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकूल हुँदै जाने र त्यसको असर आम मानिसहरूमा परिरहेको बताएका हुन् ।
विपद् पूर्वतयारीबारे सरकारको तयारी सन्तोषजनक नदेखिएको पनि सांसद भट्टराईको भनाइ थियो । विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको पनि उनको भनाइ थियो ।
‘जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकूल हुँदै जाने, त्यसको असर आम मानिसमा परिरहेको छ । तर त्यस आधारमा हाम्रो नेपालको, विशेष गरीकन सरकारको तयारी त्यति सन्तोषजनक छैन । विपद् प्राधिकरण बनाएका छौँ, यो कामको निम्ति, जम्मा वार्षिक १८ करोड बजेट विपद् प्राधिकरणलाई दिइएको छ, जसमा १५ करोड साधारण खर्च छ, तलब(भत्ता, पारिश्रमिकमा छ, सांसद भट्टराईले प्रश्न गरे, जम्मा ३ करोड रुपैयाँले विपद् प्राधिकरणले के गर्नसक्छ? त्यसै गरीकन हामीसँग दक्ष जनशक्ति छैन । हामीसँग आधुनिक साधनहरू छैनन् । जसले समयमै उद्धार हुनसक्ने अवस्थामा पनि हामीले गर्न सकिरहेका छैनौँ । सरकारले गर्न सकिरहेको छैन ।’
सचिव भट्टराईले भूकम्पलाई छोडेर बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिसको अकालमा मृत्यु हुने गरेको भन्दै सरकारले गम्भीरताका साथ व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने सुझाव दिए ।