काठमाडौं ।आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत आज बिहान सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ।
नामिबिया विरुद्धको समूह चरणको खेलमा अस्ट्रेलिया ९ विकेटले विजयी भएको हो। टस जितेर पहिला फिल्डिङ रोजेको अस्ट्रेलियाको कसिलो बलिङसामु नामिबिया १७ ओभरमा ७१ रनमा समेटियो। जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले पाँच ओभर चार बलमै एक विकेटको क्षतिमा लक्ष्य भेटायो।
अस्ट्रेलियाका लागि बलिङतर्फ एडम जाम्पाले उत्कृष्ट प्रदर्शन गरे। जाम्पाले आफ्नो चार ओभरमा १२ रन दिएर चार विकेट लिए। जोस हेजलवूड र मार्कस स्टोइनिसले समान दुई विकेट लिए। प्याट कमिन्स र नेथन एलिसले समान एक विकेट लिए।
ब्याटिङतर्फ नामिबियाका जेर्हर्ड एरसमस ३६ रन बनाए। यस्तै, माइकल लिन्जेनले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ डेभिड वाइजीले एक विकेट लिए।
यता अस्ट्रेलियाका लागि डेभिड वार्नरले आठ बलमा २० रनको पारी खेले। ट्र्याभिस हेडले १७ बलमा ३४ तथा मिचेल मार्सले नौ बलमा १८ रन बनाए।
जितसँगै अस्ट्रेलिया विश्वकपको अर्को चरण ‘सुपर एट’मा पुगेको छ। यसअघि दक्षिण अफ्रिकाले पनि सुपर एटमा आफ्नो स्थान बनाइसकेको छ।