काठमाडौं । असार ७ गते प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट पास गर्ने तयारी गरिएको छ । संघीय संसद सचिवालयको पाक्षिक संसदीय क्यालेन्डरअनुसार असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने बताइएको छ ।
प्रतिनिधिसभामा आजदेखि बजेटबारे मन्त्रालयगत छलफल सुरु हुँदैछ । मंगलबार पहिलो दिन युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।
विनियोजन विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, स्वतन्त्र सांसद अमरेश कुमार सिंह, नेपाली कांग्रेसका सांसदहरु पुष्पबहादुर शाह, बद्री पाण्डे र रमा कोइराला तथा एमालेका संजय कुमार गौतमले मन्त्रालयगत बजेट कटौतीको प्रस्ताव गर्ने कार्यसूची छ ।
अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । सरकारले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।