बिजुली उत्पादन वृद्धि संगै भारततर्फ बिजुली निर्यात शुरु

बिजुली उत्पादन वृद्धि संगै भारततर्फ बिजुली निर्यात शुरु

काठमाण्डौ – खोला तथा नदीहरूमा पानीको बहाव बढेर देशभित्रका जलविद्युत् गृहहरूबाट बिजुली उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ बिजुली निर्यात शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको बिजुली गएको सोमवार रातिदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री शुरु गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ४ सय मेगावाटको हाराहारीमा बिजुली निर्यात भइरहेको बताउनुभयो । पिकु समय अर्थात् सबैभन्दा धेरै माग हुने समयमा अहिले नेपालमा २ हजार मेगावाटको माग रहेको छ । आन्तरिक माग पूरा गरी बाँकी भएको १ हजारदेखि १ हजार २ सय मेगावाट बिजुली प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताअनुसार यस वर्ष निर्यात लक्ष्य राखिएको घिसिङले बताउनुभयो ।
द्विपक्षीय सम्झौताअनुसार बिहार राज्यलाई झन्डै २ सय मेगावाट बिजुली बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र झन्डै ४ सय मेगावाट हरियाणा राज्यलाई बिक्री गर्न एनटीपीसी विद्युत व्यापार निगम लि– एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले उल्लेख गर्नुभयो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अहिलेसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ६ सय ५६ मेगावाट बिजुली प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा बिजुली खरिदरबिक्रीको पनि अनुमति पाएको छ । ६ सय ५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५ सय ८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
यस्तै कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेशनबाट परवानीपुर सबस्टेशनसम्मको १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगहरूमा बिजुली आपूर्तिको केही समस्या रहेको उल्लेख गर्नुभयो । तर बदल्ने काम २र३ दिनमा सकिने छ, त्यसपछि अहिलेको समस्या समाधान हुनेछ ।
यसैबीच नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको बिजुली माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको बिजुली भारतबाट आयात गरेको छ । सुक्खायाम शुरु भएसँगै खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट बिजुली उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट बिजुली आयात गरिएको हो ।

खबरपाटी
खबरपाटी