सिंहदरबारमा प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्रीबीच छलफल

सिंहदरबारमा प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्रीबीच छलफल

काठमाडौं । संसद्को अवरोधबारे निकास खोज्न सत्तारुढ प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापतिबीच सिंहदरबारमा छलफल भइरहेको छ ।

सङ्घीय संसद्को बजेट अधिवेशनको शुरुमै प्रमुख प्रतिपक्ष कांग्रेसले अवरोध गरेपछि सरकार दबाबमा परेका सत्तारुढ दलका नेताको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । तर गृहमन्त्री लामिछाने समेत जोडिएको भनिएको सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति नबनाएसम्म संसद्को अवरोध कायमै राख्ने कांग्रेसले अडान लिएपछि प्रचण्ड र ओलीले रविसँगै छलफल गरेका हुन् ।

सिंहदरबारमा जारी बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भएको स्रोतले बतायो ।

भोलि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ । संसद्को गतिरोध अन्त्य सरकारको भूमिकामा निर्भर हुने कांग्रेसका नेताहरूले बताउँदै आए पनि आज सरकार पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।

सोमबार दिउँसो सभामुख देवराज घिमिरेले शेरबहादुर देउवा र रवि लामिछानेलाई फोन गरेर राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरेका थिए ।

संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा संघीय संसद्को वर्षे अधिवेशनको पहिलो दिन हिजो दुवै सदनका कार्यसूची प्रभावित भएका छन् ।

संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले माग सम्बोधन नभएसम्म नीति तथा कार्यक्रम र बजेटलगायत सदनका कुनै पनि बिजनेस अगाडि बढ्न नदिने अडान लिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समय धेरै बाँकी नरहेकाले सत्तापक्ष दलहरू दबाबमा छन् ।

खबरपाटी
खबरपाटी