काठमाडौं -सिन्धुलीको सुनकोसी गाउँपालिका –५ मुल्कोटमा स्थित बी.पी.राजमार्ग हुँदै सिन्धुली जाँदा राजमार्गसँगै दाहिने तर्फको भित्तामा रहेको सेतीदेवीको मन्दिर आजभोलि सबैको आस्थाको केन्द्र बनेको छ । यस राजमार्गको यस स्थलमा अत्यधिक दुर्घटना हुने भएकोले यस सेतीदेवीको मन्दिर बी.पी.राजमार्ग बनाउँदा यहाँ स्थापना गरिएको हो ।
हाल जहाँ यस देवीको मन्दिर रहेको छ, यही राजमार्गको तल भिरमा सेतीदेवीको स्थान छ। स्थानीयवासीको अनुसार अझै पनि यस देवीको स्थान सोही ठाउँमा रहेको छ। हाल बी.पी. राजमार्गको भित्तामा यस देवीको मूर्ति रहेको छ। यस देवीको मन्दिरमा भक्तजनहरूले ऐना चढाउने गर्दछन्। सवारी साधन भएकाहरूले ऐनामा आफ्नो सवारी साधनको नम्बर लेखि चढाउने गर्दछन्। जसले गर्दा बी. पी. राजमार्गको भित्ता नै ऐनाले भरिएर सजिएका छन्।
हाल यो स्थल धार्मिक स्थल बन्नुको साथै पर्यटकीयस्थल समेत बन्न पुगेको छ।