गृहमन्त्रीबारे सिटौला : राजीनामा मागेका छैनौँ, संसदीय समितिबाट ‘क्लिन चिट’ लिनुस्

गृहमन्त्रीबारे सिटौला : राजीनामा मागेका छैनौँ, संसदीय समितिबाट ‘क्लिन चिट’ लिनुस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठक अघि बढ्न नसक्ने बताएको छ।

कांग्रेस राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए।

‘अर्बौंको अपचलनको कुरा छ। गृहमन्त्रीजी कहीँ संलग्नता छैन भन्नुहुन्छ, झन् राम्रो। संसदीय समिति बनाएर क्लिन चिट लिनुहोस्,’ सिटौलाले भने, ‘पहिले पनि यस्ता कुरा उठ्दा संसदीय छानबिन समितिको अभ्यास छ। गृहमन्त्रीलाई राजीनामा दिनुस् पनि हामीले भनेको छैन।’

संसदीय छानबिन समिति बनाउन सत्तापक्षलाई सजिलै रहेको उनले बताए। ‘तर छानबिन समिति बनाउन हुन्न भन्नेमा गृहमन्त्रीजी नै देखिनुभएको छ किन बनाउन नहुने हो?’ उनले प्रश्न गरे।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले दिएको चिठीबारे पनि प्रश्न उठाए।

‘महान्यायाधिवक्ता कार्यालयले कसैलाई क्लिन चिट दिँदै हिँड्छ? राज्यको कुन अंगको प्रभावमा यस्तो काम हुन्छ?,’ सिटौलाले भने, ‘वैधानिक निकायलाई अवैधानिक कार्य गर्न बाध्य गर्न थालियो। यसरी देश अघि जान सक्दैन।’

गृहमन्त्रीमाथिको अनुसन्धान प्रहरीले गर्न नसक्ने र यो कसैले नपत्याउने पनि सिटौलाले बताए।

‘संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदन अघि जाँदैन भनेर हामीले आज निर्णय नै गरेका छौं,’ उनले भने, ‘छिट्टै संसदीय समिति बन्छ भन्ने विश्वास हो।’

खबरपाटी
खबरपाटी