चालू आर्थिक वर्षदेखि नै बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री

चालू आर्थिक वर्षदेखि नै बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालू आर्थिक वर्षदेखि नै बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने बताएका छन् ।

मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आज उद्‌घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ सकेकाले चाँडै विद्युत् निर्यात गरिने उनको भनाइ छ ।

गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको उनले बताए ।

'उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु', प्रधानमन्त्री प्रचण्डले भने, 'नेपाल, भारत र बङ्गलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ । यसले नेपालको जलविद्युत्‌को बजार विस्तार हुनेछ ।'​​

उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्‌को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरू गरिरहेको जानकारी दिए ।

विकास निर्माणका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, 'विकास आयोजनाहरूको काम रोकिनु हुँदैन । विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजनाहरू अगाडि बढाउन महत्त्वपूर्ण निर्णय गर्नै पर्नेछ ।'

उनले विकास निर्माणको कार्यमा बाधक नभई व्यवहारिक बनिदिन अनुरोधसमेत गरे  ।

खबरपाटी
खबरपाटी