नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य भएको अर्थमन्त्री पुनको भनाइ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य भएको अर्थमन्त्री पुनको भनाइ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको बताउनुभएको छ । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।

लगानी बोर्डका उपाध्यक्षसमेत रहनुभएका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताउनुभयो । उहाँले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरुबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको बताउनु भयो ।

मन्त्री पुनले लगानीकर्ता र सरोकारवालाबीच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको बताउनुभयो । नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषिमा आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यवसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौँ, नीतिगत र व्यवसाय शुरु गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ, नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको तथ्यबाट पनि नेपाल लगानीका लागि उपयुक्त र आकर्षक गन्तव्य भएको पुष्टि हुन्छ । नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवद्र्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको छ ।’ मन्त्री पुनले भन्नुभयो ।

अर्थमन्त्री पुनले उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवद्र्धनमा जोड दिएको बताउनुभयो । सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक—निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

खबरपाटी
खबरपाटी