वर्तमान सरकारलाई सफल बनाउन एमालेले सम्पूर्ण शक्ति लगाउँछ : केपी ओली

वर्तमान सरकारलाई सफल बनाउन एमालेले सम्पूर्ण शक्ति लगाउँछ : केपी ओली

काठमाडौँ- नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गरेका हुन् । राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो पार्टीले सम्पूर्ण शक्ति लगाउने बताए । उनले जनताको समस्या समाधानका लागि सरकारले थालेका कार्य सकारात्मक भएको उल्लेख गरे । उनले हतारोमा वाम ध्रुवीकरण वा प्रतिपक्षलाई निषेध नभई संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्ने पनि बताए । त्यस्तै ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरे । उनले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक रहेको बताए । गत महाधिवेशन यताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेको उनले दाबी गरे ।

महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा रहेको बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने एमालेले जनाएको छ । बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन् । बैठक आइतबारसम्म सञ्चालन हुनेछ ।

खबरपाटी
खबरपाटी