हङकङविरुद्ध नेपालले पायो ११५ रनको लक्ष्य

हङकङविरुद्ध नेपालले पायो ११५ रनको लक्ष्य

काठमाडौँ । ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत हङकङसँगको खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ । टस जितेर फिल्डिङ राजेको नेपालले १७.५ ओभरमा ११४ रनमा हङकङलाई सिमित बनाएको हो । १७ औँ ओभरमा दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए पछि हङकङ अब आउट भएको हो ।  हङकङको छैँटौ, सातौं र आठौँ विकेट तीव्र गतिका बलर अविनाश बोहराले लिए ।

उनले १४.५ ओभरमा नसरुल्ला रानालाई ६ रनमा क्याच आउट गराए । बोहराले नै नेपाललाई छैटौँ सफलता दिलाए ।  उनले १२.१ ओभरमा यासिम मुर्तजालाई २ रनमा बोल्ड गर्दै नेपाललाई छैटौँ सफलता दिलाएका हुन् । 

नेपाललाई पाँचौं सफलता स्पिनर ललितनारायण राजवंशीले दिलाए । उनले ११।२ ओभरमा एजाज खानलाई सात रनमा एल्बीडब्लू धरापमा पारे । ललितले नै नेपाललाई चौथो सफलता दिलाएका थिए । उनले ९.२ ओभरमा बाबर हयातलाई ६ रनमा पवेलियन फर्काए । नेपाललाई तेस्रो विकेट अविनाश बोहराको ओभरमा गुलशनकुमार झाले रनआउटको रूपमा दिलाए । 

उनले ८.२ ओभरमा उत्कृष्ट फिल्डिङ गर्दै अंशुमन रथलाई ३४ रनमा रनआउट गरे । नेपाललाई दोस्रो सफलता पनि रनआउटको रूपमा प्राप्त भयो । हङकङको दोस्रो विकेट पतन हुनेक्रममा गुलशनकुमार झाको ओभरमा दीपेन्द्र सिंह ऐरीले कप्तान निजाकत खानलाई १२ रनमा रनआउट गरे । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए ।

उनले तेस्रो ओभरको पहिलो बलमा मार्टिन कोएत्जीलाई ८ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । पानी पर्दा टस हुन ढिलाइ भएको नेपाल र हङकङबीचको खेल १८ ओभरमा झारिएको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरिएको छ ।

नेपालले विवेककुमार यादवको स्थानमा करण केसीलाई मौका दिएको हो । जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलोमा मलेसियालाई ५ विकेट तथा दोस्रो म्याचमा कतारलाई ३२ रनले हरायो । नेपाल हङकङविरुद्ध पनि सहज जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा पुग्न चाहन्छ ।

खबरपाटी
खबरपाटी