इजरायल-हमास युद्ध विराम गर्न अन्तर्राष्ट्रिय दबाब, दुवै पक्ष आ-आफ्नै अडानमा

इजरायल-हमास युद्ध विराम गर्न अन्तर्राष्ट्रिय दबाब, दुवै पक्ष आ-आफ्नै अडानमा

काठमाडौं । इजरायल र प्यालेस्टिनी सशस्त्र समूह हमासबीच हप्ता दिनसम्म चलेको वार्ता कुनै सहमतिमा पुग्न सकेन । युद्धविरामको अपेक्षा गरिएको वार्ता निष्कर्षविहीन भयो । हमास इजरायली सेनाको पूर्ण फिर्ता र विस्थापित प्यालेस्टिनीहरूलाई निर्बाध फिर्ताको अनुमति दिने आफ्नो प्रारम्भिक मागमा अडिग छ। उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको पूर्ण विनाश र बन्दी इजरायली नागरिकको रिहाइ नभएसम्म लडाइँ जारी राख्ने दाबी गरेका छन् । 


तर, दुई पक्षबीच युद्धविराम गराउन अन्तर्राष्ट्रिय दबाब निरन्तर बढिरहेको छ । यसको सबैभन्दा ठूलो संकेत बाइडेन प्रशासनले सीआईए प्रमुख विलियम बर्न्सलाई नयाँ वार्ताका लागि कायरो पठाउनु हो । यस्तै, इजिप्ट र कतारले पनि हमासलाई दबाब दिने ठानिएको छ । तर, यसको अर्थ वार्ता कुनै सहमतिमा पुगिहाल्छ भन्ने होइन । 

यस हप्ताको सुरुमा इजरायलका रक्षामन्त्री योभ गालान्टले युद्धविरामका लागि यो सही समय भएको बताएका थिए।


कुनै पनि सम्झौतामा इजरायली जेलमा रहेका प्यालेस्टाइनी बन्दीहरूको रिहाइ समावेश हुने अपेक्षा गरिएको छ जसको बदलामा हमासले बन्दी बनाएका केही इजरायली नागरिकहरूको रिहाइलाई समावेश गर्ने छ । नोभेम्बरमा भएको अस्थायी युद्धविराम सम्झौता यही आधारमा आधारित थियो।


इजरायली अधिकारीहरूका अनुसार गाजामा उनका १३३ जना अझै पनि बन्धकमा छन् । यद्यपि हमासले अपहरण गरेका व्यक्तिमध्ये कम्तीमा ३० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकी प्रस्ताव अन्तर्गत, हमासले छ हप्ताको युद्धविरामको प्रारम्भिक चरणमा ४० बन्धकहरूलाई रिहा गर्नेछ, जसमा कुनै पनि रोगबाट पीडित महिला, सैनिक र ५० वर्ष भन्दा माथिका पुरुष बन्धकहरूलाई प्राथमिकता दिइनेछ ।

यसपछि इजरायलले इजरायली नागरिकको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका १०० कैदीहरूसहित कम्तीमा ७०० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । 

तर हमासले वार्ताकारहरूलाई रिहाइको लागि प्राथमिकता दिन भनिएको श्रेणीमा ४० जना बन्धकहरू नभएको बताएको छ।

यसले पहिले अनुमान गरेभन्दा धेरै बन्धकहरू मारिएको वा प्यालेस्टिनी इस्लामिक जिहादजस्ता अन्य सशस्त्र समूहहरूलाई सुम्पिएको हुन सक्ने डर बढेको छ।

अधिकांश इजरायलीहरूले युद्धलाई समर्थन गर्छन् तर बन्धकहरूको रिहाइमा सम्झौता गर्न दबाब पनि दिँदै आएका छन् ।

हमासद्वारा अपहरण गरिएका बन्धकहरूको परिवारले ठूलो मात्रामा विरोध प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्रीले बन्धक फिर्तालाई प्राथमिकता दिनुको सट्टा आफ्नो राजनीतिक अस्तित्व जोगाउन बढी चिन्तित भएको उनीहरूको आरोप छ ।

नेतान्याहुको राजीनामाको माग पनि लगातार बढिरहेको छ । नेतान्याहुको गठबन्धन सरकारमा पनि विभाजन देखिन थालेको छ। उनीहरूको गठबन्धनमा अति दक्षिणपन्थी र राष्ट्रवादी पार्टीहरू छन् जो हमासलाई कत्ति पनि छोड्न तयार छैनन् । यी दलहरू जुनसुकै मूल्यमा युद्ध जारी राख्न चाहन्छन् ।

इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रधानमन्त्री नेतन्याहुलाई बन्धकहरूलाई मुक्त गर्ने एकमात्र उपाय हमासलाई निरन्तर आक्रमण गरेर नष्ट गर्नु हो भनेका छन् ।

अर्कोतर्फ इजरायलका सुरक्षा मन्त्री बेन ग्वीरले आफ्नो वाचाअनुसार सेनाले रफाहमा हमला नगरे नेतान्याहुले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

नेतन्याहु अब निर्णय लिन स्वतन्त्र छैनन्। उनी आफ्नो सरकारको बन्धक बनेका छन् ।

हमासले हालैको प्रस्तावमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन, तर जनतामाथि हुने अत्याचार रोक्न कुनै पनि सम्झौताका लागि तयार रहेको बताएको छ।

याह्या सिनवारले हमासको तर्फबाट अन्तिम निर्णय लिनेछन् । हमासका यी शीर्ष नेता गाजाको सुरुङमा लुकेर बसेको र बन्धकहरू पनि उनीसँगै रहेको विश्वास गरिएको छ । तर उनीहरूसम्म पुग्न निकै कठिन छ ।

हमासको विश्वास छ कि ग्यारेन्टीबिना स्थायी युद्धविराम सम्भव छैन किनभने बन्धकहरूलाई रिहा गर्नेबित्तिकै इजरायलले फेरि आक्रमण गर्नेछ । पछिल्लो समय हमासको नेतृत्वले अन्तर्राष्ट्रिय स्तरमा इजरायलको कडा आलोचना गरिरहेको छ । 
 

खबरपाटी
खबरपाटी